News

हुम्लाको बाटो : माथि च्यासरा भीर, तल नीलो दह !

हुम्लामा यसपालि जिन्दगीकै जोखिमपूर्ण बाटो हिँडियो । तल कहालिलाग्दो खोला, माथि टोपी खस्ने भीर । बाटोको आयतन पैतालासम्म अटाउने । ‘डर के आगे जीत है’ भन्ने हिन्दी कहावतझैं जोखिमको बाटो छिचोलेपछि अहा ! कति सुन्दर रहेछ हुम्ला ! यो हुम्लाको च्यासरा भीर हो । यो भीर पार गर्न खुट्टाको भर परेर हुँदैन, भित्तामा अढेसिनुपर्छ । कतै डोरीको पनि साहारा लिनुपर्ने हुन्छ ।

सिमिकोटदेखि हिल्सासम्मको सडक निर्माणाधीन छ । त्यही सडकखण्डको सबैभन्दा डरलाग्दो भीर हो, च्यासरा भीर ।

हाम्रो गन्तव्य हो- नाम्खा गाउँपालिकाको यलबाङ । यलबाङ कुनै परिचित ठाउँ होइन । यद्यपि यो ठाउँ भौगोलिक हिसाबले अत्यन्तै रमणीय रहेछ । यहाँ एक गुम्बा छ, यलबाङ्ग गुम्बा । जिल्लाकै सबैभन्दा महत्वपूर्ण गुम्बा रहेछ यो । गुम्बासम्म पुग्न कम्ता सास्ती खेप्नु परेन । यसपालि फरक मौसममा यात्रा गरेकाले अनुभूति पनि फरक रह्यो । यात्रा कठिन थियो, तर उत्तिकै रोमाञ्चक । बाटोमा देखिने सुरम्य दृश्यले आँखालाई लोभ्याइरहे । तीव्र बेगमा बग्ने हिमाली खोला, किनारमा पाक्नै लागेको अन्नबाली, आँखाले भ्याउनेसम्मका पहाडी श्रृंखला, लेकाली वस्तीहरु । जति हेरे पनि हेरिरहुँ लाग्ने ! हिमाली वस्तीको यात्रा जति कठीन छ, प्रकृतिको सुन्दरता कठिनाई भुलाउने खालको हुने गर्छ । र, स्थानीय मानिसहरुको स्वागत सत्कार एवं आतिथ्य अति नै न्यानो हुने गर्छ । मानसरोवर जाने बाटो, जहाँबाट कैलाश पर्वत देखिन्छ : हिक्मतसिंह ऐर, वरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड